Gazal Section

बोल्छन तिम्रा आँखा ।गजल

October 2, 2008


अधर चाहे मौन रहुन रहर बोल्छन तिम्रा आँखा

प्रेम अमृत मीसीएका जहर बोल्छन तिम्रा आँखा।।

 

कती पागल भ ए होलान भ ए कती शायर यँहा

वास्तवमै मदहोशी बहर बोल्छन तिम्रा आँखा।।

 

कहिले सम्म बाँध्छौ तिमी परेलिका बाँधहरु

प्रेम सिन्धु उर्लीएका लहर बोल्छन तिम्रा आँखा।।

 

बिर्सिएर मलाई एक्लै बाँच्न सक्ने भए किन

अनिदोमा तड्पीएका प्रहर बोल्छन तिम्रा आँखा।।

 

बनावटि तिरस्कार नदेखाउ भो मलाई तिमी

बाँच्दिन म तिमी बिना अक्सर बोल्छन तिम्रा आँखा।।

 

प्रमेश कंडेल

प्रवास साहित्य कुञ्जबाट

September 24, 2006

विल्कुल पहिलो पल्ट अनुराग साहित्यको लागि एउटा जवाफि गजल प्राप्त भएको छ र जुन गजल संप्रेशण गर्नुभएको छ प्रबास साहित्य कुञ्ज, चितवनका साथिहरु (हाल दोहा कतार) बाट । साथिहरुलाई अनुराग साहित्यको तर्फबाट असिम धन्यवाद । मैले साथिहरुको इमेललाई अनुराग साहित्यमा जस्ताको त्यस्तै समावेश गरेको छु । गजलमा सवाल पैदा हुनु नै कुनै एक जवाफि गजल जन्मनुको संकेत हो । यसरी गजलमा सवाल पैदा भैरहने र जवाफको खोजी भैरहने हो भने गजलको रचना तिव्र र साहित्यीक हुने कुरामा दुइमत छैन । प्रवासमा रहेर पनि स्वदेशको नाममा साहित्य कुञ्ज नै स्थापना गरेर नेपालको साहित्यीक भण्डारलाई आफ्ना गजल-रचनाहरुले सिंगार्न व्यस्त रहनुभएका प्रवास साहित्य कुञ्जका साथिहरुलाई म फेरि धन्यवाद दिन चाहन्छु र आगामी दिनहरुमा पनि अनुराग साहित्यको लागि निरन्तर गजलको अपेक्षा राख्दछु । -विनित

साथि "बिनित"जी मा नमस्कार,

साथि तपाइको  सवाल रुपि गजल पाउँदा खुसि लागेको छ । बिनित जी जानि नजानि तपाईको गजल को जवाफ लेखेकाछौ मिल्छ भने दुबै सवाल र जवाफ को रुपमा http://gazal.blogsome.com मा राख्नु हुन अनुरोध छ।   हाम्रा गजलमा कुनै कमिकमजोरि भेटिएमा सच्चाउने पुर्ण अधिकारा पनि यसै साथ हस्तान्तरण गर्दछौ ।।

प्रबास साहित्य कुञ्ज
चितवन , नेपाल
हाल - दोहा कतार   पुनः धन्यवाद ।

साथी तपाई अनुराग साहित्य बाट
सवाल 

हाँस्दा-हाँस्दै तिमीलाई म रुलाएर जान सक्छु ।
अमृत कै नाम बाट बिष पिलाएर जान सक्छु ।

तिमी आफ्नो लक्ष्य खोज, मेरो भर परि नबस
साथि मत जुनसुकै बेला बिलाएर जान सक्छु ।

हिम्मत मैले हारेको छैन, अविरल यात्रि हुँ म
आफ्ना सारा बन्दोबस्त मिलाएर जान सक्छु ।

म त त्यो छुपारुस्तम जुन पत्याउन्नउ तिमी
हेरि बस म सबको मुटू हिलाएर जान सक्छु ।

बेवारीसे यो "विनित" विन्दासको के भरोसा
कुनै पनि बेला म चोट, दिलाएर जान सक्छु ।

साथी हामी प्रबास साहित्य बाट
जवाफ
फगत मुटु चुडाइ सिलाएर मार मलाइ
सक्छौ भने विष्को प्याला पिलाएर मार मलाई

मेरो लक्ष्य थियो "विनित"सजाउने तस्वीरमा
सक्छौ त तस्वीर बाट बिलाएर मार मलाई

प्रकृतिको उसुल भनि यात्रा अन्तै लगे पछि
सारा सपना माटोमा मिलएर मार मलाई

उदायौ त अर्कै दिलमा छुपारुस्तम बनेर
शुल बनि मेरो मुतु हिलाएर मार मलाई

फाइद छैन "प्रबास"को विश्वास तोडे पछि
चाहे हसाउ वा चोट दिलाएर मार मलाई

प्रबास साहित्य कुञ्ज
चितवन , नेपाल
हाल - दोहा कतार

गजल

September 12, 2006

प्रबास सहित्य कुन्ज
बासु देव पौडेल "अन्जान "
गौरिगन्ज -८, चितवन, नेपाल
हाल - दोहा कतार

मेरो मुटु अरु संग खोलेर गयौ अरे
तिमीनै हौ मेरो भनि बोलेर गयौ अरे

संगैबसी खिचेको तिम्रो साथमा तस्वीर थियो
यादलाई मेटाउन तस्वीर पोलेर गयौ अरे

अमृत खुवाउछु भन्थ्यौ बिछोड्को प्याला होइन
अमृतसंग थोरै जहर घोलेर गयौ अरे

लीलाम हुँदै छरे मेरो तिमीसंगको त्यो माया
व्यवारीसे चालमा माया मोलेर गयौ अरे

मेरो मुटु अरु संग खोलेर गयौ अरे
तिमीनै हौ मेरो भनि बोलेर गयौ अरे

श्वेताको सृजना

September 5, 2006

श्वेता ढकाल (वर्ष नौ)
श्वेता ढकाल

श्वेता ढकाल नौ वर्षीय बालिका हुन् । उनी ब्राइट फ्यूचर हाई स्कुल नैकाप, काठमाडौँमा पढि्छन् । कलिलै उमेरमा उत्कृष्ट कविताहरु सृजना गर्न सिपालु श्वेता मनमा उठेका कुराहरुलाई कवितामा कोर्ने गरेको बताउछिन् ।

पाँच सय चवन्न जना सहभागी बीचको कविता प्रतियोगितामा बालक शीर्षकको कविता लेखी प्रथम हुन सफल भई चर्चामा आएकी श्वेताको कविता भन्ने शैली पनि उत्कृष्ट रहेको कुरा बरिष्ठ साहित्यकार कृष्ण प्रसाद पराजुली बताउनु हुन्छ ।

उनले नेपाली बाल साहित्यको बर्तमान अवस्था र चुनौतीहरू विषयक (गत २०६२ भदौ ५ गते सम्पन्न) एक दिने राष्ट्रिय कार्यशाला गोष्ठीमा आफ्ना रचना प्रस्तुत गरेको सुनेपछि अनौपचारिक कुराकानीका क्रममा बरिष्ठ साहित्यकारहरू रमेश बिकल, शान्तदास मानन्धर र दैवज्ञराज न्यौपानेले उनको प्रतिभालाई मौलाउन दियौं भने उनी भविष्यमा राम्रो लेखक कवि बन्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

ब्राइट फ्यूचर हाई स्कुलका संस्थापक मोहन कार्की श्वेताको सुन्दर भविष्यका लागि विद्यालयले हरदम सहयोग गरिरहने कुरा बताउनु हुन्छ । यिनै प्रतिभाशाली बालिका श्वेता ढकालको कविता संग्रह एक प्रश्न तिमीलाई प्रस्तुत गर्न पाउँदा केटाकेटी पत्रिकालाई खुशी लागेको छ । यो संग्रहमा रहेका कविताहरु पढेर तपाईहरूलाई पनि खुशी लाग्नेछ भन्ने बिश्वाश हामीले लिएका छौँ ।

कार्तिकेय घिमिरे
प्रधान संपादक,
केटाकेटी पत्रिका
२०६२/५/१४

उनका केहि कविताहरु :
साहित्य भनेको चेतनाको श्रोत हो ।
3. बालक
2. समय
1. राम्रो बानी
0. एक प्रश्न तिमीलाई
   
 

बालक….


नेपाली आकाशमा
कालो बादलले छोपेको,
पिलपिलाउँदो घामलाई नियाल्दै,
आँखा भरि आँशुको आहाल
मनभरि अनगिन्ति सपनाहरु बोकेर,
डरै डरको घर भित्र, टोल्हाएको,
म सानो बालक,
अबोध अनि थकित बालक,
म सफलताका लागि दुःख,
बिकासका लागि शान्ति,
म बारीको पाटो भरिको,
पहेलपुर बाली,
म किताबका अक्षरहरु,
कापीका खाली खाली पानाहरु,
म लेकको तामाङ्ग,
पहाडको क्षेत्री,
अनि तराईको थारु,
म घाटीभरिको उकालीको प्यास,
साँढेको माझमा परेको निर्दोष बाच्छो,
अनि म बालक,
बुद्धको शान्ति भरि भरिको
बम र बारुद,
मेरी आमाले नचाहेको सपना,
खै, यस बेला म बालक
के, गर्न सक्छु र ?
यस्तो बेला त मैले
बालकको अर्थ पनि ठम्याउन सक्दिन,
हे युगका संवाहकहरु हो !
यदि मैले बालकको कविता, कोर्नुपर्छ भने,
मलाई एउटा भाङग्राको झोला,
झोलाभित्र एउटा किताब,
एउटा कापी, एउटा कलम,
बालअधिकार,
अनि एउटा बुद्ध देऊ,
जसले हामी बालक पढ्न र लेख्न सकौँ ,
र बुद्धले फैलाएको
शान्तिको सास फेरेर
बालकको कविता कोर्न सकौ,
हो बालकको कविता कोर्न सकौं ।

 

TOP

 

 

समय….
जसलाई रोक्न सकिदैन,
जुन चलिरहन्छ
त्यो हो समय,
समयको सदुपयोग नगरे
समयमा नै काम नगरे
पछुताउनु पर्छ पछि,
रुदै बस्नु पर्छ पछि,
त्यसैले गरौ समयको सदुपयोग,
राम्रो काम गरेर गरौ यसको उपयोग,
त्यसैले गरौँ काम त्यसलाई समाई
समयमा काम नगरे, बस्नु पर्छ पछुताई ,
गर काम समयमा फलको आश नगरी,
कहिल्यै नबस्नु भाग्यको भर परी ।

TOP

 

 

राम्रो बानी ….


साना साना नानी,
बनाऊ राम्रो बानी,
यही देशमा छ है,
स्वच्छ हावापानी ।

राम्रो कुरा सिक,
नराम्रोलाई छोडी,
उब्जाउ गर्न सिक,
पत्थरलाई तोडी ।

मिलेर बस तिमी
सबैलाई आफ्नो ठानी,
सपुत बन्न खोज
कपूत बन्न छोडी ।

 

TOP

 

 

एक प्रश्न तिमीलाई….


रुदैछिन् मातृभूमि
तिम्रो गराईमा,
रुदैछिन् नेपाल आमा,
तिम्रो सोचाइमा,

किन रुवायौ
तिमीले मातृभूमिलाई ।
किन रुवायौ तिमीले
नेपाल आमालाई ।

हामी बालबालिका माथि,
किन यस्तो भएको होला,
कापी र कलम बोक्ने बेलामा
किन गोली र बन्दुकको झोला ।

 

TOP

 

स्वप्ना

September 2, 2006

वाग्ले प्रकाश "बगर"
प्रबास साहित्य कुन्ज शिवनगर - ८ चितवन ,
नेपाल हाल - दोहा, कतार

महलको स्वप्ना, छोडे मैले आज
हृदयको बाग, तोडे मैले आज

रहरै रहरमा, प्रदेश आए
पिताको पहल, गोडे मैले आज

न तन रह्यो, न त मननै रह्यो
मृत्यु संग दिल, जोडे मैले आज

सबैको ममता, तिरस्कार गर्दै
मैन जस्तो दिल, मोडे मैले आज

न घर न घाट, भयो जिन्दगानी
रिक्त "बगर" नै, ओढे मैले आज

गजल

August 28, 2006

वाग्ले प्रकाश "बगर"
प्रबास साहित्य कुन्ज शिवनगर - ८ चितवन , नेपाल
हाल - दोहा, कतार

हामी दुई बिच काडे, तार कस्ले हाल्यो सानु ?
नछुट्टीने माया प्रितमा बार कस्ले हाल्यो सानु ?

हररात बाहुपासमा कसिएर बस्छु भन्थ्यौ,
फेरी दुर-दुर लाने कर कस्ले हाल्यो सानु ?

तिमी विना जिउदो लाश भाकोथियो जीवन,
प्रेममा त्याग भन्दै सार कस्ले हाल्यो सानु ?

मुनामदन जस्तै हामी परिपुरक हुँदा हुँदै,
साच्चै भन बागमा झार कस्ले हाल्यो सानु ?

रोमियो र लैला झै माया गर्दा तिमीलाई,
"बगर" पागल भयो भनि प्रचार कस्ले हाल्यो सानु ?

जिन्दगानी

-यताउतिबाट

के परदेसियौ रुवाई बिहानी
प्यासी बटुवाझैँ भयो जिन्दगानी

म हाँसूँ दुनियाँ आँखा तरी हेर्छ
आँसुमै रुझेर गयो जिन्दगानी

एकनास ठन्डी बढेकोबढ्यै भो
कि बालेर तापूँ म यो जिन्दगानी

हररात पीडा र एक्ली चखेवी
न सिद्ध्यो जवानी, न यो जिन्दगानी

प्रेमको भिकारी

August 27, 2006

-विनित, साउदि अरब

समिपमा नआउ मेरो, अलिक विनाशकारी छु ।
र्घाईते बाघ भन्दा पनि, र्घाईते म शिकारी छु ।

बनेर अबुझ म तिम्रो हात थाम्न सक्दिन प्रिय,
किन कि म आफु स्वयं, धर्तिलाई नै भारी छु ।

जति पल हाम्रा विते, विगत ती केवल प्रेममा,
प्रियको प्रेमका खातिर, सयौं जन्म आभारी छु ।

फर्किएर आउँछु-आउँदिन मेरो बाटो नहेर्नु भो,
यसै पनि म तिमीबाट, सात समुन्द्र पारी छु ।

आश्वासन दिनु केवल बेसाहारा सोच्नु मलाई,
तर नसोच्नु सजिलै कि, म प्रेमको भिकारी छु ।

सिक्नु पर्छ

-चन्द्र पुन, साउदि अरब

सहीदलाई श्रद्धाजली चढाउदैमा
रगतको मुल्य चुक्दैन उनको
पवित्र आत्माले कसम खादै
सहीदको लक्ष्यमा हिडन सिक्नु पर्छ ।

पुर्खाको वीरताको गीत गाँउदैमा
साहस र वलिदानी रहदैन उनको
संकल्प र त्यागले अघि बढदै
पुर्खाको निशानी भिड्न सिक्नु पर्छ ।

वुद्धको देश शान्ति प्रीय भन्दैमा
शान्तिको उपदेश रहदैन उनको
अहींसाको लक्ष्य र सपथ लिदै
वुद्धको उपदेश जित्न सिक्नु पर्छ ।

परिवर्तनको बिगुल घन्काउदैमा
नयाँ यूग उल्टेर आउँदैन यहाँ
नरी पुरुषको हातेमालो संगै
समयको गतीमा हिडन सिक्नु पर्छ ।

देश विकासको नारा लगाउदैमा
देशले काचुली फेर्दैन याहा
भाषण को शासन तिलाञ्जली दिदै
देशको चाहानमा समर्पीत हुन सिक्नु पर्छ

परिवर्तन

-निर तामाङ्ग, साउदि अरब

सुन्दरताको बर्णन गर्नेले
        आज मौका छोपीरहेछ
मीठा मीठा कुरा गर्नेले
        भित्र भित्र घाउ खोपीरहेछ

आमा दर्जा दिएको नारीलाई
        पैदला मुनि कुल्चीरहेछ
तिनले पहिरिएको सारीलाई
        लाग्यो पुरुषले बल्झीरहेछ

कसरी भनौ खै आयो स्वतन्त्र
        जीउनै गाह्रो भइरहछ
नभनौ देशमा पायो लोकतन्त्र
        दिउसै लुट्ने लुटेर आइरहेछ

देशको निम्ती भाषण छाड्नेले
        एक्ले बसी मोज गरीरहेछ
पसिना बगाई काम गर्नेले
        भोकै यहाँ मरीरहेछ

त्यसैले म भन्छु देशमा
        देश द्रोहीले भोज गरिरहेछ
नेताहरु नौलो नौलो भेषमा
        देश बेच्ने सोच गरिरहेछ

सकिएन देशको रंग फेर्न
        कुहिरो आई ढाकिरहेछ
सकिएन शान्तिको स्वास फेर्न
        परिवर्तन बिरुद्ध भागिरहेछ ।।।



नभए पो एकै शोक भएपछि हजार शोक।

All rights reserves @ binit_sanu

होम पेज बनाउनुहोस्